तीन वर्ष अघिदेखि बेपत्ता युवकको कंकाल फेला

साढे तीन वर्ष अघिदेखि बेपत्ता एक युवकको शवको कंकाल प्रहरीले बुधबार ललितपुरको ठेचोमा फेला पारेको छ। केन्द्रिय अनुसन्धान व्यूरो टोलीको तालिम प्राप्त दुई कुकुरले घटनास्थल पत्ता लगाएका थिए । खेतमा गाडेको अवस्थामा फेला परेको सो कंकाल २१ वर्षीय युवक राजेन्द्र मानन्धरको भएको प्रहरीले जनाएको छ ।
आफ्नो छोरा हराएको उजुरी पीडित परिवारले प्रहरी परिसर भक्तपुरमा दिएको आधारमा अनुसन्धान गर्दै जाँदा प्रहरी टोलीले सो घटनामा संलग्न भएको आशंकामा रविन शाखकर्मीलाई बुधबार पक्राउ गरेपछि मानन्धरलाई हत्या गरी त्यस स्थानमा गाडेको रहस्य खुलेको हो। शाखकर्मीले पुजा गुरुङसँग विवाह गरेर ठेचोमा डेरा गरी बसेकोमा उनको मानन्धरसँग सम्बन्ध रहेको आशंकामा विवाद भई हत्या गरेको प्रहरीको आशंका छ।
दुई छोराकी आमा पुजाले भक्तपुरकै अनिल ठगुसँग पारपचुके गरेपछि मानन्धरसँग प्रेम गरेको र पछि शाखकर्मीसँग विवाह गरेको देखिएको प्रहरीको भनाइ छ। बुधबार फेला परेको सो कंकाल फरेन्सिक परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।







Comments